काठमाडौं । सिन्धुलीमा भएको कार दुर्घट्नामा परेर चार भारतीयको मृत्यु भएको छ । अर्का एक गम्भीर घाइते छन् । बी।पी। राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाइ नगरपालिकाको सिन्धुलीगढी गेट नजिक भारतीय नम्वर प्लेटको कार दुर्घटना भएको हो ।
गएराति करिव १ वजेतिर गढी गेट नजिकै काठमाडौंतर्फ आउँदै गरेको बी आर ०६ डिडि ०६८७ नम्बरको कार अनियन्त्रित भएर सडकबाट करिव ५०० मिटर तल खोचमा खसेको थियो । प्रहरीका अनुसार, तीन जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा जिल्ला अस्पताल सिन्धुलीमा मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा भारत बिहारको भगवती स्थान–८ समस्तिपुर वारेसनगरका ४२ वर्षका गबर सिंह, ३६ वर्षका मनु सिंह, ३३ वर्षका राकेश कुमार सिंह र ३२ वर्षका अभिषेक सोनार रहेको प्रहरीले जनाएको छ ।
टाउकोमा गहिरो चोट लागेका घाइते ४७ वर्षका धर्मेन्द्र कुमार सोनीलाई थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ । पाँच जना सवार कार सडकबाट ५ सय मिटर भन्दा तल खसेको प्रहरीले जनाएको छ । मृतकको शव घटनास्थलबाट निकालेर पोष्टमार्टमका लागि सिन्धुली अस्पतालमा राखिएको छ । घट्नाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



