काठमाडौं । दुई प्रहरी नायब महानिरीक्षक (डीआईजी) को काज सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयले मंगलबार साँझ प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत डीआईजी पोषराज पोखरेल र अन्वेषण योजना तथा विकास निर्देशनालयका रामदत्त जोशीको काज सरुवा गरेको हो ।
प्रहरीको केन्द्रीय प्रवक्तासमेत रहेका डीआईजी पोखरेललाई उपत्यका ट्राफिक कार्यालयमा सरुवा गरिएको छ । त्यहाँ कार्यरत मीरा चौधरी एआईजीमा बढुवा भएपछि ट्राफिक कार्यालय प्रमुख खाली थियो । त्यसैगरी डीआईजी जोशीलाई विशेष ब्यूरोमा सरुवा गरिएको छ ।
ब्यूरोमा कार्यरत सुदीप गिरी एआईजीमा बढुवा भएपछि ब्यूरो प्रमुख पनि रिक्त थियो । नेपाल प्रहरीको जनपदतर्फ २० जना डीआईजीको दरबन्दी भएपनि हाल ७ जना मात्रै कार्यरत छन् ।
१३ जना डीआईजीको दरबन्दी खाली रहेपनि समयमा बढुवा गर्न नसकदा कोशी, मधेस र सुदूरपश्चिम प्रदेश प्रमुखको नेतृत्व प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ले गर्दै आएका छन् ।



