काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले फागुन महिनासम्ममा २५ अर्ब ९७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार कम्पनीहरुले फागुन मसान्तसम्म १८ लाख ७६ करोड बीमालेख जारी गरि सो शुल्क आर्जन गरेका छन् । सो अवधिमा २० निर्जीबन बीमा कम्पनीहरुले सो रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका हुन् ।
सो कम्पनीहरुले फागुन महिनामा मात्रै २ अर्ब ८१ करोड ४ लाख रुपैयाँ शुल्क आर्जन गरेका छन् । सो समयमा कम्पनीहरुले २ लाख ४० हजार १ सय ७० बीमालेख जारी गरेका छन् ।
सवैभन्दा धेरै बीमा शुल्क आर्जन गर्नेमा शिखर इस्योरेन्स रहेको छ । यस कम्पनीले ३ अर्ब ३४ करोड रुपैयाँ बराबरको शुल्क आर्जन गरेको छ । दोस्रो धेरै बीमा शुल्क आर्जन गर्नेमा नेको इस्योरेन्स रहेको छ । सो कम्पनीले १ अर्ब ९७ करोड रुपैयाँ बराबरको शुल्क आर्जन गर्ने सफल भएको छ ।
हिमालयन एभरेष्ट इस्योरेन्सले १ अर्ब ९१ करोड रुपैयाँ बराबरको शुल्क आर्जन गरेको छ भने सगरमाथा लुम्विनी इस्योरेन्स कम्पनीले २ अर्ब ११ करोड रुपैयाँ आर्जन गरेको छ । राष्ट्रिय वीमा कम्पनीले १ अर्ब ८० करोड रुपैयाँ आजर्न गरेको छ । मर्जरका कारण फागुन अन्तिम तीन दिनको तथ्याङ्क सगरमाथा लुम्बिनीको नामबाट कारोबार भएको छ ।
सिद्धार्थ इस्योरेन्स कम्पनीले सो अवधिमा १ अर्ब ६२ करोड रुपैयाँ शुल्क आर्जन गरेको छ । एनएलजी इस्योरेन्सले १ अर्ब ५८ करोड रुपैयाँ शुल्क आर्जन गरेको छ ।
सवैभन्दा कम बीमा शुल्क आर्जन गर्नेमा नेशनल इस्योरेन्स कम्पनी रहेको छ । सो कम्पनीले ६४ करोड ४८ लाख रुपैयाँ शुल्क आर्जन गरेको हो भने युनाइटेड इस्योरेन्स कम्पनीले ७८ करोड ४७ लाख रुपैयाँ आर्जन गरेको छ ।



