images
images

सामुदायिक विद्यालयमा विद्यार्थी बढे


  • 299
    SHARES
  • २०७९ चैत्र २७ गते सोमबार

    सामुदायिक विद्यालयमा विद्यार्थी बढे

    काठमाडौं । काठमाडौं महानगरभित्रका सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पठनपाठन हुने भए पनि नयाँ भर्नाका लागि विद्यार्थी आउने क्रम बढेको छ ।  

    हाल काठमाडौं महानगरपालिकामा ८९ सामुदायिक विद्यालय छन् । जसमा ५० प्रतिशत विद्यालयमा अङ्ग्रेजी माध्यममा पठनपाठन हुन्छ । कम शुल्कमै अङ्ग्रेजी माध्यमका पढ्न पाएपछि विद्यार्थी आउने क्रम बढेको कामपा शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले जानकारी दिए । 

    उहाँका अनुसार निजी विद्यालयमा कक्षा ५ सम्म अध्ययन सकेर ६ मा भर्ना हुन आउनेको सङ्ख्या बढी छ । “भर्नामा २५ प्रतिशत नयाँ विद्यार्थी देखिएका छन्, यसरी आउने विद्यार्थी कक्षा ६ देखि कक्षा आठ सम्मका छन्”, उनले भने । सामुदायिक विद्यालयबाट एसइई उत्तीर्ण गरेपछि उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति पाइने भएकाले विद्यार्थीको आकर्षण बढेको हो । 

    नयाँ भर्नाका लागि विद्यार्थीको सङ्ख्या बढेपछि स्तरमापन गरेर मात्र भर्ना गर्ने तयारी भएको उहाँको भनाइ छ । यसका लागि नेपाली, अङ्ग्रेजी, विज्ञान, गणित र सामाजिक विषयको पाठ्यक्रममा आधारित स्तरमापन गरिने जनाएको छ । ती विषयबाट २०÷२० अङ्क भारसहित जम्मा १०० पूर्णाङ्कको प्रश्न सोधिने छ । 

    काठमाडौं महानगरपालिकामा रहेका ८९ सामुदायिक विद्यालयमध्ये ५९ माध्यमिक विद्यालय र ३० प्राथमिक विद्यालय छन् । ती विद्यालयमा ५२ हजार विद्यार्थीले अध्ययन गर्दछन् । साथै ५ सय ४० निजी विद्यालयमा १ लाख २० हजार विद्यार्थी अध्ययनरत छन् । 

    काठमाडौं महानगरपालिकाले यसवर्ष पहिलो पटक आफ्नो क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको एसइई नतिजा सुधारका लागि  गणित, विज्ञान, अङ्गे्रजी, सामाजिक र नेपाली विषयका लागि शिक्षण सहजकर्ता नियुक्त गरी दुई महिना अतिरिक्त कक्षा सञ्चालन समेत गरेको थियो । 


    images
    images

    Logo