काठमाडाैं । अर्थमन्त्री डा.प्रकाशशरण महतले भन्सार विभाग प्रमुखहरुसँग भन्सार नाकाबाट क्रमशः राजश्व कम हुँदै जानुको कारण माग गरेका छन् । सोमवार काठमाडौंमा भन्सार विभागले आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीमा बोल्दै अर्थमन्त्री डा. महतले प्रत्येक भन्सार नाकामा पछिल्लो समय हुने आयात निर्यातको प्रगति प्रतिवेदन मन्त्रालयलाई बुझाउन माग गरेका हुन् ।
उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारदेखि देशभरका भन्सार नाकामा राजश्वमा गिरावट आएको भन्दै राजश्व गिरावट आउनुको कारण दिन विभागलाई निर्देशन दिए । उनले कुन भन्सार नाकामा कस्ता प्रकृतिका वस्तु आयात निर्यात भइरहेका छन् सोको बारेमा वास्तविक तथ्याङ्क पनि माग गरे । अर्थमन्त्री महतले भन्सार नाकाहरुमा वस्तु आयात कम भइ वा चोरी पैठारीका कारण राजश्व संकलन कम भएको हो, सो को वास्तविक तथ्याङ्क विभाग प्रमुखले अर्थ मन्त्रालयलाई बुझाउन आग्रह गरे।
उनले पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायतका भन्सारमा राजश्व चुहावट भएको भन्ने व्यापक खबर आइरहेको कुरालाई भन्सार विभागको नेतृत्वले गम्भिरताकासाथ लिन आग्रह गरे । उनले भन्सार प्रमुखहरुलाई कतव्र्यनिष्ट भएर नतिजामुलक काम देखाउन निर्देशन दिए । उनले भन्सारमा आयात निर्यात गर्ने उद्योगी व्यवसायीहरुलाई अनावश्यक दुःख नदिन भन्सार कर्मचारीहरुलाई आग्रह गरे ।
उनले अर्थ मन्त्रालयले पारदर्शी रुपमा काम गरेर नतिजा देखाउन चाहेको र मन्त्रालयको नतिजा देखाउने प्रमुख स्थान भन्सार विभाग भएको बताए । उनले अर्थतन्त्रमा नजितामुखी काम देखाउनको लागि सक्षम नेतृत्वको आवश्यक रहेको पनि बताए । उनले भने,‘विभिन्न नाकामा के कारणले भन्सार घटेको छ । त्यो भन्सार नाकामा आयातको प्रगति के छ । त्यसको मूल्याङ्कन मलाई चाहिन्छ । कुन प्रकृतिका वस्तुहरु आउने गरेका थिए । जुन भन्सार नाकामा ठूलो मात्रामा भन्सार घटेको छ ।
कुन वस्तुको आयात कम भएर गयो की अर्को नाकाबाट भएर गयो । त्यसको ब्रिक डाउण्ड मलाई चाहियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा पनि राजश्व धेरै कम भएको छ । त्यहाँ पनि राजश्व चुहावट भएको भन्ने व्यापक खबर छ । सबै भन्सार नाकाको अवस्था त्यस्तै भएकाले यहाँहरुले गम्भिरताका साथ लिनुहोला । मेरो लागि अन्य कुनै मूल्याङ्कनको आधारहरु छैनन् । कतव्र्यनिष्ठ भएर काम गर्ने नतिजा देखाउनुस् । त्यो भन्दैमा आयात निर्यात गर्ने उद्योगी व्यवसायीहरुलाई अनाश्यक दुःख दिने भनेको होइन ।
जे हुनुपर्ने थियो त्यसको कार्यान्वयन भइरहेको छैन । जो जसले जेको नेतृत्व गरिरहनुभएको छ कतव्र्यनिष्ट र क्रियाशिल भएर मेरो नेतृत्वमा अर्थमन्त्रालय पारदर्शी रुपमा काम गर्न चाहन्छौं । नतिजा देखाउन चाहन्छौं । त्यसमा भन्सार विभाग प्रमुख हो । त्यसको लागि सक्षम नेतृत्वको आवश्यक छ । जसले नेतृत्व लिनुभएको छ यसले त्यो जिम्मेवारी पूरा गर्नुपर्छ ।’
उनले भन्सार नाकाबाट नै सामान बोकेका धेरै ट्रकहरु नेपाल भित्रिएको खबर बाहिर आएको भन्दै त्यसतर्फ भन्सार प्रमुखहरुको ध्यान जान आवश्वयक रहेको बताए । उनले भन्सार नाकाबाट नै विभिन्न सामानहरु चेकजाँच नगरी भित्रिएको खबरका विषयमा भन्सार सचिवको नेतृत्वले सत्यतथ्य जानकारी गराउन निर्देशन दिए । उनले भन्सारमा हुने चुहावट रोक्नको लागि राजश्व सचिव,भन्सार विभाग प्रमुखको सक्षम नेतृत्व चाहिएको बताए । उनले राजश्व सचिव र भन्सार विभागका विज्ञहरुले बजेट बनाउँदा उपयुक्त सुझाव दिन आग्रह गरे ।
उनले सरकारको भन्सार नीति कस्तो बनाउँदा राज्यलाई कति फाइदा हुन्छ भन्ने विषयको विज्ञ भन्सार कर्मचारी भएको बताए । उनले सरकारले भन्सार नीति बनाउँदा भन्सार शुल्क निर्धारण गर्दा कसैलाई फाइदा कसैलाई बेफाइदा हुने गरी बनाउन नहुने बताए । उनले सरकारले भन्सार नीति समग्र जनताको हीतमा हुनेगरी बनाउने बताए । –न्युज एजेन्सी नेपाल



