काठमाडौं । नेपाल टेलिकमले एसईईका विद्यार्थीहरुका लागि एसईई २०७९ अफर ल्याएको छ । टेलिकमका अनुसार यो अफर चैत २४ गतेदेखि ३ महिना (९० दिन) सम्म उपलव्ध हुने भएको हाे । यस अफर अन्तर्गत कम्पनीले एसईई परीक्षा दिएका विद्यार्थीहरुलाई निःशुल्क सिम उपलब्ध गराउने छ भने बोनस अन रिचार्ज पनि उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
उक्त सिम नेपाल टेलिकमका देशभरका कार्यालयहरुबाट निःशुल्क उपलब्ध हुनेछ । सिमकार्ड प्रयोगमा आउनासाथ ३० दिनसम्मका लागि विभिन्न अफरहरु उपलब्ध हुनेछन् । विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ भने सोही सिममा यी अफरहरु उपयोग गर्न सकिने व्यवस्था गरिने कम्पनीले जनाएको छ ।
नयाँ सिम प्राप्त गरेका विद्यार्थीहरुले सिम कार्डमा मेन व्यालेन्सको रुपमा उपलब्ध हुने १० रुपैयाँबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सकिन्छ । साथै १ महिनासम्म जम्मा ४० मिनेट अन नेट कल गर्न, ६० एमबी डाटा चलाउन र ३० वटा अन नेट एसएमएस सहितको सुविधा प्रयोग गर्न सक्नेछन् । यसका अतिरिक्त यसबाट नेपाल टेलिकमको नेटवर्कभित्र दैनिक २० मिनेट कुराकानी गर्न र १० वटा एसएमएस पठाउन तथा १०० एमबी डाटा प्रयोग गर्न सकिने छ । यस अनुसार ३० दिनसम्म ३००० एमबी डाटा, ६०० मिनेट टकटाइम र ३०० वटा एसएमएसको सुविधा रहेको कम्पनीले जनाएको छ ।
नयाँ सिम प्राप्त गर्नका लागि विद्यार्थीहरुले प्रवेश पत्र वा कक्षा १० को मार्कसिटको फोटोकपी, एकप्रति फोटो र अभिभावकको नागरिकता वा आफ्नो परिचयपत्रको फोटोकपी संलग्न गरी फाराम भर्नुपर्नेछ ।
यस अफर अन्तर्गत उपलब्ध हुने बोनस अन रिचार्जमा ५० रुपैयाँ वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा पनि ५०० एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्क भित्र ५० मिनेट कल र ५० वटा एसएमएस पठाउन सकिने बोनस सुविधा समेत उपलब्ध हुनेछ । रिचार्जमा ६ महिनासम्म बोनस सुविधा प्राप्त हुनेछ र बोनस प्राप्त भएको तीन दिनभित्र प्रयोग गरिसक्नुपर्ने कम्पनीले जनाएको छ ।



