काठमाडौं । अमेरिका विश्वकपको अन्तिम छनोटमा पुगेको छ । आईसीसी विश्वकप छनोटको प्ले अफमा मंगलबार जर्सीलाई २५ रनले पराजितगर्दै अमेरिकाले विश्वकपको अनितम छनोटमा स्थान पक्का गरेको हो ।
पा“च खेलमध्ये चार जितबाट ८ अंक बटुल्दै अमेरिकाले जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकपको छ्नोटमा स्थान बनाएको हो । चार खेलबाट दुई अंक मात्र जोडेको जर्सी तालिकाको पाचौं स्थानमा छ । मंगलबार नामिबियाको विन्डोहोकस्थित युनाइटेड क्रिकेट क्लब मैदानमा अमेरिकाले प्रस्तुत गरेको २३२ रनको लक्ष्य पछ्याएको जर्सीले ४७.४ ओभरमा सबै विकेट गुमाएर २०६ रनमात्र बनाएको थियो ।
जर्सीका अशा ट्रिबले ७५, बेन्जामिन वार्डले ४६, जुलिस सुमेराउरले ३५, कप्तान चार्ल्स प्रर्चार्डले १६ र जोन्टी जिनरले ११ रन बनाएका थिए । अमेरिकाका अली खानले घातक बलिङ गर्दै ९.४ ओभरमा ३२ रन खर्चिएर सात विकेट लिएपछि जर्सीले पुरै ५० ओभर खेल्न नसकेको हो ।
अमेरिकाका निसर्ग पटेलले दुई र जेसी सिंहले एक विकेट लिएका थिए ।
त्यसअघि टस हारेर ब्याटिङमा आएको अमेरिकाले ५० ओभरमा सबै विकेट गुमाएर २३१ रनको योगफल खडा गरेको थियो । अमेरिकाका स्टिभ टेलरले ७९, गजानन्द सिंहले ४१, जेसी सिंहले २९, निसर्ग पटेलले २३ र साइतेजा मुक्कामल्लले २१ रन बनाएका थिए । जर्सीका बेन्जामिन वार्डले चार, इलोटन माइल्स र जुलिस सुमेराउरले समान दुई विकेट लिएका थिए ।
प्लेअफ अन्तर्गत मंगलबार नै सम्पन्न अर्को खेलमा घरेलु टिम नामिबियाले क्यानडामाथि १११ रनको फराकिलो जित निकाल्दै विश्वकप छनौट हुने समभावना कायम राखेको छ । नामिबियाले प्रस्तुत गरेको २६८ रनको लक्ष्य पछ्याएको क्यानाडा ४२.२ ओभरमा १५६ रनमै समेटिएको थियो ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा २६७ रनको उच्च योगफल तयार पारेको थियो । जितसँगै पाँच खेलबाट ६ अंक जोडेको नामिबिया तालिकाको दोस्रो स्थानमा छ । चार खेलबाट चार अंक जोडेको क्यानडा चौथो स्थानमा छ ।
आगामी जुनदेखि जुलाईसम्म जिम्बाब्वेमा हुने विश्वकप छनोटमा लिग–२ का शीर्ष तीन टोली नेपाल, ओमान र स्कटल्यान्डस“गै सुपर लिगका पुछारका पाँच र प्ले अफका शीर्ष दुई गरी कुल १० टोली हुने छन् । सुपर लिगबाट नेदरल्यान्ड्स, श्रीलंका, वेस्टइन्डिज र जिम्बाब्वेले विश्वकप छनोट खेल्ने पक्का भइसकेको छ ।



