काठमाडौं । सवारी साधानमा जडान हुने इम्बोस्ड नम्बर अव नेपाली र अंग्रेजी दुबै भाषामा हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामा पनि लेख्न सकिने निर्णय गरेसंगै दुवै भाषामा लेखिने भएको हो ।
मन्त्रिपरिषद्को बैठकले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को अनुसूची– २ मा हेरफेर गर्न स्वीकृति दिने निर्णय गरेसंगै इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामा पनि लेख्ने बाटो खुलेको हो । सरकारले लामो समयदेखि अल्झिएको यो विषयलाई सोमबार टुङ्ग्याएको छ ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी अक्षर र अंक लेख्न मिल्ने व्यवस्था संशोधन गरेर देवनागरी लिपिमा पनि लेख्न मिल्ने व्यवस्था थप गरिएको बताइन । इम्बोस्ड नम्बर प्लेटमा नेपाली र अंग्रेजी दुबै भाषामा लेख्न सकिने कानुनी व्यवस्था मिलाइएको शर्माको भनाई थियो ।



