काठमाडौं । बैंक तथा वित्तीय संस्थाले २४ घण्टा हेल्प डेक्स सञ्चालन गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले सुचना जारी गर्दै विद्युतीय माध्यमको प्रयोगललाई अझै भरपदो बनाउनका लागि सो सेवा सञ्चालमा ल्याएको हो ।
बैंकका अनुसार विद्युतीय भुक्तानी सेवा प्रयोग गर्दा आउनसक्ने कठिनाइका सम्वन्धमा सेवाग्राहीको गुनासो सुनुवाइ गर्न सेवा प्रदायकले कम्तीमा १६ घण्टा (विहान ६ बजेदेखि बेलुका १०) सेवा दिनुपर्ने छ । त्यस्तै, कार्डसम्वन्धी समस्याको लागि तत्काल सहयोग गर्ने र प्रत्येक संस्थाले गुनासो सुन्ने अधिकारीको नाम, पद, सम्पर्क नम्वर र इमेल ठेगाना संस्थाको वेबइसाइड राख्नुपर्ने व्यवस्था रहेको राष्ट्र बैंकले स्मरण गराएको छ ।
प्रविधिको प्रयोगसँगै नगदरहित कारोबार सजिलो, विश्वासिलो र पारदर्शी हुँदै गएको राष्ट्र बैंकको धारणा छ । क्यूआर कोड, मोबाइल वालेट, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, विभिन्न प्रकारका कार्ड जस्ता विद्युतीय माध्यमको प्रयोग गरी नगदरहित कारोबारमा बानी बसाल्न सेवाग्राहरुलाई केन्द्रीय बैंकले यस्तो आग्रह गरेको हो ।
यस्ता सेवा लिँदा कुनै समस्या भएमा सम्बन्धित संस्थाको हेल्प डेस्क तथा गुनासो सुन्ने अधिकारीलाई सम्पर्क गर्न समेत आग्रह गरेको छ ।




