काठमाडौं । पीएनजीलाई १ सय १७ रनले पराजितगर्दै अमेरिका विश्वकप छनोटको प्लेअफको शिर्षस्थानमा उक्लेको छ । वान्डरर्स क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको अमेरिकाले सात विकेटको क्षतिमा ३ सय ३५ रनको बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको पीएनजीले ३४.४ ओभरमा सबै विकेट गुमाएर १ सय १८ रन मात्रै बनाउन सक्यो ।
पीएनजीका लागि कप्तान आसाद भालाले ७२ बलमा तीन चौकासहित ४२ रन बनाउनुबाहेक अन्य ब्याट्समेनले उल्लेख्य प्रदर्शन गर्न नसक्दा लगातार चौथो खेलमा पराजित हुन पुग्यो । बलिङतर्फ अमेरिकी बलर गजानन्द सिंहले ६.५ ओभरमा १५ रन खर्चेर एक मेडनसहित सर्वाधिक चार विकेट लिए । अली खानले तीन तथा निसार्ग पटेलले दुई विकेट लिए ।
त्यसअघि अमेरिकी ओपनर टेलरले एक सय ३३ बलको सामना गर्दै ६ चौका र एक छक्कासहित ८१ रनको महत्वपूर्ण इनिङ खेलेका थिए । त्यस्तै, जोन्सले ७७ बलमा दुई चौका र तीन छक्कासहित ६५ रनको योगदान गरे । पीएनजीका सेमो कामेयाले १० ओभरमा ३२ रन खर्चेर दुई मेडनसहित सर्वाधिक तीन विकेट लिए । कप्तान आसाद भालाले दुई तथा रिले हेकुरेले एक विकेट लिए ।
सुरआती चार खेलमा पराजित पीएनजी अंकविहीन छ । अमेरिका चार खेलबाट तीन जितसहित ६ अंकसहित शिर्ष स्थानमा छ । ६ टिम सहभागी प्ले अफको शीर्ष दुई टिमले जुन–जुलाईमा जिम्बाव्बेमा हुने विश्वकप छनोटमा स्थान बनाउने छन् ।



