काठमाडौं । बारा क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा नेकपा एमालेले पुर्वमन्त्री पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । मनोनयन दर्ताको केही घण्टा अघिमात्र एमालेले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
पूर्व खेलकुद मन्त्रीसमेत रहेका पौडेलले एमाले भित्रको विवाद उत्कर्षमा पुग्दा माधव नेपाललाई साथ दिएका थिए । तर एमाले विभाजनको एक महिनापछि आफू एमालेमै रहने घोषणा पौडेलले गरेका थिए । गत मंसिर ४ को निर्वाचनमा बारा २ को निर्वाचनमा एमालेले जनता समाजवादी पार्टीलाई सघाएको थियो ।
जसपाबाट चुनाव जितेका रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि रिक्त भएको स्थानमा आगामी बैशाख १० गते उपनिर्वाचन हुन लागेको हो । बारा २ सत्ता गठबन्धनको तर्फबाट जसपाका अध्यक्ष उपेन्द्र यादव, रास्वपाबाट रमेश खरेल, जनमत पार्टीबाट शिवचन्द्र कुसवाह र राप्रपाबाट सोनेलाल साह उम्मेदवार छन् ।



