काठमाडौं । दाङको तुलसीपुर–१२ स्थित टरिगाउँ विमानस्थल विस्तारका लागि पहिलो विकल्प छनोट गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न चार विकल्प दिएर विमानस्थल विस्तार गर्न सकिने गरी विस्तृत परियोजा प्रतिवेदन सार्वजनिक गरेको थियो । तीमध्ये पहिलो विकल्पमा काम अगाडि बढाउन थालिएको तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले बताए । “क्यानले चार वटा विकल्प दिएको थियो”, उनले भने, “तीमध्ये हामीले पहिलो विकल्प रोजेर पठएका छौँ ।”
पहिलो विकल्पअनुसार पुरानै धावनमार्गलाई बढाउने गरी तयारी गरिएको उनको भनाइ छ । हालको ७ सय ५० मिटर धावनमार्ग बढाएर १ हजार २ सय ३० मिटर लम्बाइ बनाउने तयारी छ ।
उपमहानगरद्वारा गठित टरिगाउँ एयरपोर्ट विस्तार सहयोग समितिका संयोजक चौधरीले सोहीस्तरको विमान बनाउन ५७ बिघा जग्गा चाहिने जानकारी दिए । विमानस्थलको ३९ बिघा जग्गा छ । बाँकी सामुदायिक वनको १२ बिघा, अधिग्रहण १.२ बिघा र सार्वजनिक जग्गा ४.८ बिघा लैजानुपर्छ ।
विमानस्थल बनाउँदा ६ अर्ब १५ करोड ९१ लाख ५४ हजार ८ सय रुपैयाँ लागत अनुमान गरिएको छ । सोहीअनुसार ‘फाइल’ सम्बन्धित निकायमा पठाइसकेको उनले बताए । आगामी वर्षको बजेटमा त्यो कुरा उल्लेख हुने गरी लागेको उनले बताए ।
सोही विकल्पअनुसार फुटपाथ तथा संरचना निर्माणको कामलाई २ अर्ब ७६ करोड ५० लाख ९४ हजार ८ सय ६० रुपैयाँ, भवनलगायतका सामग्रीलाई ३ अर्ब १३ करोड ४२ लाख ४० हजार रुपैयाँ, विविध कामका लागि १५ करोड ७३ लाख २० हजार रुपैयाँ र जग्गा अधिग्रहण तथा भवन निर्माणका लागि १० करोड २५ लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।
यो विकल्पअनुसार अहिले रहेका घर फाल्न पर्दैन । मन्दिर क्षेत्रको केही जग्गा प्रयोग हुनेछ । यसरी विमानस्थल बनाउँदा एकातिरबाट मात्रै अवतरण र उडान गर्नुपर्ने हुन्छ । यसमा रातको समयमा र कम ‘भिजिविलिटी’ हुँदा अवतरण गर्नसक्ने अवस्था रहँदैन । रातमा हवाई अवतरण गर्न थप ४ सय ५० मिटर जमिन चाहिन्छ । यो डिजाइनअनुसार काम गरेमा पाँच वर्षमा विमानस्थल बन्नेछ । यसमा ‘आइई’ र ‘इआइए’ गर्न दुई वर्ष लाग्छ । साथै जग्गा अधिग्रहण गरेपछि तीन वर्ष लाग्छ ।
टरिगाउँ विमानस्थलमा २०११ देखि २०४२ सालसम्म नियमितरुपमा विमान सञ्चालनमा भएको हो । त्यतिबेला सीधा दाङ काठमाडौँ जाने यातायातको अर्को विकल्प थिएन । राप्ती नदीमा पुल निर्माण भइसकेको थिएन । बुटवलस्थित तिनाउमा पनि पुल थिएन ।
यात्रु रुपैडिया र भैरहवा भएर भारतीय भूमि हुँदै विराटनगर वा काठमाडौँ जानुपर्ने परिस्थिति थियो । केही समय अवरोध भए पनि जसोतसो २०७० सम्म विमान सञ्चालनमा आएको थियो ।
त्यसपछि टरिगाउँ विमानस्थलको कालोपत्रेको लागि विमान अवरुद्ध बन्यो । विमान कालोपत्रे भएपछि तारा एयरले पहिलोपटक दाङ र रुुकममा एकै दिन परीक्षण उडान भरेको थियो । त्यसपछि रुकुममा विमान नियमित भए पनि त्यसको झन्डै एक वर्षको अन्तरालमा मात्रै ०७२ जेठ १४ देखि टरिगाउँ विमानस्थलबाट गोमा एयरले विमान सेवा सुरु गरेपनि एक वर्ष पुग्दा नपुग्दै अवरुद्ध बन्यो ।
त्यसको प्रमुख कारण पर्याप्त यात्रु नपाउनु थियो । २०७५ सालदेखि भने नियमितरुपमा हवाई सञ्चालन भइरहेको छ । उक्त विमानस्थलमा हाल १९ सिट क्षमताको विमान मात्रै अवतरण गर्न सक्छ । साढे आठ करोड रुपैयाँको टेन्डरबाट कालोपत्रे गरिएको टरिगाउँ विमानस्थलको धावनमार्गको लम्बाइ ७ सय ५० मिटरको छ भने चौडाइ ३० मिटर छ ।
ठूला खाले विमान अवतरणलाई कम्तीमा धावनमार्गको लम्बाइ १ हजार २ सय मिटरदेखि माथि १ हजार ५ सय मिटरसम्मको र चौडाइ ३० देखि ५० मिटरसम्मको धावन मार्ग कालोपत्रे आवश्यक पर्छ । हाल यहाँ नेपाल एयरलाइन्स र सीता एयरलाइन्सका जहाजले उडान भरिरहेका छन् । हाल शुक्रबारबाहेक सबै दिन टरिगाउँबाट हवाई सेवा छ ।



