काठमाडौं । संघीय सरकारको अर्थमन्त्री पदमा प्रकाशशरण महत नियुक्त भएका छन् । नयाँ निर्वाचनसँगै पुस १० मा बनेको पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारका दोस्रो अर्थमन्त्रीको रुपमा महतलाई नियुक्त गरिएको हो ।
नवनियुक्त अर्थमन्त्री महतको यो चौथो सिंहदरवार यात्रा हो । यसअघि २०७४ सालमा शेरबहादुर नेतृत्वको सरकारमा उनी परराष्ट्र मन्त्री भएका थिए । त्यस्तै, २०६६ मा उनी ऊर्जामन्त्री भएका थिए भने २०६१ मा परराष्ट्र राज्यमन्त्री भएका थिए । अर्थमन्त्रीमा भने उनको पहिलो जिम्मेवारी हो ।
हाल नेपाली कांग्रेसको केन्द्रीय प्रवक्ता रहेका महत पार्टी सभापति शेरबहादुर देउवासँग अत्यन्त निकट मानिन्छन् । विद्यार्थी राजनीतिको पृष्ठभूमिबाट आएका उनी २०४२ सालमा नेपाल विद्यार्थी संघको महामन्त्री भएका थिए ।
संघीय संसद रहेका उनी २०६३ को अन्तरिम संसदसहित ४ पटक सांसद बनिसकेका छन् । उनी अर्थशास्त्रमा विद्यावारिधि हुन् । अर्थमन्त्रीको रुपमा वित्तीय संकटका कारण कमजोर बन्दै गएको सरकारी ट्रेजरीलाई मजबुत बनाएर संकटोन्मुख आर्थिक अवस्थाबाट देशलाई बाहिर ल्याउने महत्वपूर्ण जिम्मेवारी उनको काँधमा आएको छ ।



