काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले सरकारमा जाने ४ मन्त्रीको नाम टुङ्गो लगाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले आफू निकट ४ जनाको नाम प्रधानमन्त्रीलाई पठाएका हुन् ।
यसरी मन्त्रीमा सिफारिस हुने नामहरुमा केन्द्रीय उपसभापति पूर्णबहादुर खड्का, केन्द्रीय प्रवक्ता प्रकाशशरण महत, केन्द्रीय सदस्यद्वय रमेश रिजाल र सीता गुरुङ रहेका छन् ।
देउवाले खड्कालाई उपप्रधान तथा रक्षामन्त्रीसहित सरकारको नेतृत्व गर्न पठाएका छन् । त्यस्तै, सबैभन्दा शक्तिशाली मानिने अर्थ मन्त्रालयको जिम्मेवारी महतलाई दिएका छन् । रिजाल उद्योग तथा गुरुङ शहरी विकास मन्त्री बन्नेछन् ।
कांग्रेसले सत्ता गठबन्धनमा ८ जना मन्त्रीको भाग पाएको थियो । त्यसमध्ये देउवाले आफू इतर पक्षलाई दुई जना भाग लगाएका थिए तर त्यसमा चित्त नबुझाउँदै अर्को पक्षले नाम पठाउन मानेको छैन । सोही कारण आज हुने मन्त्रिपरिषद् विस्तारले सरकार पूर्ण नहुने देखिएको छ ।



