काठमाडौं । विश्वकै चर्चित क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) आजदेखि शुरु हुंदैछ । आईपीएलको १६औं संस्करण आज साँझ सुरु हुन लागेको हो ।
आईपीएलको यो प्रतियोगिता नयाँ फर्म्याटसँगै होम एण्ड अवे प्रणालीमा खेलाइने भएको छ । प्रतियोगिता अन्तर्गत साविक विजेता गुजरात टाइटन्स र चेन्नाई सुपर किंग्सबीच उदघाटन खेल हुनेछ । गुजरातको घरेलु मैदान अहमेदावादस्थित नरेन्द्र मोदी स्टेडियमा बेलुका ७ः४५ बजे खेल सुरु हुने जनाइएको छ ।
गत सिजन डेब्युमै उपाधि जितेको गुजरात हार्दिक पाण्डेको कप्तानीमा मैदान उत्रनेछ भने चेन्नाईको कप्तानी महेन्द्र सिंह धोनीले गर्नेछन् । कोरोनाका कारण २०१९ को संस्करणपछि आईपीएल पहिलो पटक होम एण्ड अवे प्रणालीमा हुन लागेको हो ।
१० टिम सहभागी लिगमा ७४ खेल हुनेछन् । हरेक टोलीले घरेलु मैदानमा खेल्न पाउने भएपछि टिमका समर्थकहरु उत्साहित छन् । यस पटक हरेक टिमले लिगमा १४ खेल खेल्नेछन् । जसमध्ये ७ खेल घरेलु मैदानमा र ७ खेल बाहिर गएर खेल्नुपर्नेछ । १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।
ड्र अनुसार समूह ‘ए’ मा मुम्बई इन्डियन्स, राजस्थान रोयल्स, कोलकता नाइट राइडर्स, दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स रहेका छन् । यस्तै समूह ‘बी’ मा चेन्नाई सुपर किंग्स, पञ्जाब किंग्स, सनराइजर्स हैदरावाद, रोयल च्यालेन्जर्स बैंगलोर र गुजरात टाइटन्स छन् ।
हरेक टिमले आफ्नो समूहमा रहेका चार टिमसँग दुई–दुई पटक गरी कूल ८ खेल खेल्नेछन् । यस्तै अर्को समूहको चार टिमसँग एक–एक पटक गरी चार खेल खेल्नेछन् । यस बाहेक अर्को समूहको एक टिमसँग भने दुई पटक खेल्नेछन् । प्रत्यक खेल जित्ने टिमले २ अंक प्राप्त गर्नेछ । खेल बराबरी भए वा कुनै नतिजा नआए दुवै टिमले समान १–१ अंक पाउनेछन् ।
लिग चरणको खेलपछि प्लेअफमा फाइनलसहित चार खेल हुनेछन् । जसमा लिगको शीर्ष र दोस्रो स्थानमा रहने टिमबीच क्वालिफायर वान हुनेछ । यसको विजेता सिधै फाइनल पुग्नेछ । यस्तै लिगमा तेस्रो र चौथो हुनेबीच एलिमिनेटर हुनेछ । यसको विजेता र पहिलो क्वालिफायरको पराजित टिमबीच क्वालिफायर टु खेल हुनेछ । यसको विजेता फाइनल पुग्नेछ र क्वालिफायर वान र टु को विजेताबीच फाइनल खेल हुनेछ ।



