काठमाडौं । सत्ता गठबन्धनका १० दलबीच भागबण्डा मिलेसंगै आज तीन वजे मन्त्रीहरुको शपथ ग्रहण हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गरी सपथग्रहण गराउँने कार्यक्रम तय गरेका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार, दहालले गठबन्धनका दललाई दिउँसो एक बजेभित्र मन्त्री बन्नेहरुको नामावली मागेका छन् । नामावली आएपछि दिउँसो ३ बजे नयाँ मन्त्रीहरुको शपथ ग्रहण समारोह हुने जनाइएको छ ।
१० पुस गते एमालेसंग गरिएको गठबन्धन राष्ट्रपति निर्वाचनसम्म पुग्दा भत्किएसँगै प्रधानमन्त्री प्रचण्डले एक महिनादेखि १६ मन्त्रालयको नेतृत्व लिएका थिए । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मन्त्री बनेकाहरुले राजीनामा दिएसंगै जनमत पार्टीका एक र माओवादी केन्द्रका चार मन्त्री मात्रै सरकारमा थिए ।
सत्ता साझेदार दलहरुका बीचमा पछिल्लो पटक कांग्रेसले ८, माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ले २/२ मन्त्रालय लिने सहमति बनेको छ । त्यसैगरी जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीले १/१ मन्त्रालय पाउने छन् ।



