काठमाडों । एसइई परीक्षा दिन ५६ वर्षीया गोमादेवी बस्नेत नेपाल फर्किएकी छिन् । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–३ गठ्ठाघरस्थित आस्था महिला विद्यालयमा अध्ययन गर्दै आएकी बस्नेत सोमबार एसईई परीक्षाका लागि अमेरिकाबाट नेपाल आइपुगेकी हुन् ।
सर्लाही घर भइ लामो समयदेखि बालकोटमा बस्दै आएकी बस्नेत कक्षा १० मा पढ्दापढ्दै नौ महिनाअघि अमेरिका गएकी थिइन् । अमेरिकाको कोलोराडोमा बस्दै आएकी बस्नेत अनलाइन कक्षा र अनलाइनबाट छुट्टै ट्युसन पढेर परीक्षाको तयारी गरेको बताउँछिन् । कक्षा ६ देखि आस्था महिला विद्यालयमा अध्ययनरत बस्नेत ५ छोरी र १ छोराका आमा हुन् ।
चार नातिनातिना रहेकी बस्नेतको कक्षा ४ मा पढ्दा पढ्दै १४ वर्षको उमेरमा २०३८ सालमा बिहे भएपछि पढाइ रोकिएको थियो । बस्नेतका सबै ५ छोरीले स्नातक उत्तीर्ण गरिसकेका छन् भने सबै भन्दा कान्छो छोरा पनि बीआईटी पढ्दै छन् । छोरा एसर्इई उत्तीर्ण गरेकै वर्षदेखि फुर्सद महसुस गरेर आफ्नो पढ्ने पुरानो रहर पुरा गर्दै आएको बस्नेत बताउँछिन् । बस्नेत भन्छिन्, ‘मलाई छोराछोरीदेखि नातिनातिनासम्मले पढाइमा सहयोग पुर्याइ राखेका छन् ।’
सबैको साथ सहयोग भएकै कारण ६३ वर्षसम्ममा स्नातकोत्तर गरी कालो टोपी लगाइछाड्ने लक्ष्य बस्नेतको छ । बुढेसकालमा पढ्ने रहर कसरी पलायो त भन्ने प्रश्नमा बस्नेत भन्छिन्, ‘पहिलो पटक अमेरिकाको बोस्टनस्थित कलेज टेकेपछि खोई कसरी मलाई पढ्ने र डिग्री हासिंल गर्ने इच्छा जाग्यो म त्यसदिनदेखि जुनसुकै हालतमा पढेर कालोटोपी लगाउँछु भन्ने ध्याउन्नमा लागे ।’ पढ्नलाई उमेर बाधक बनेन त भन्ने प्रश्न सक्न नपाउदै गोमा भन्छिन्, ‘सामान्य अक्षरमात्र चिनेको अवस्थामा १४ वर्षको उमेरमा बिहे भयो ।’
आमा केही भन्ने जान्दानजान्दै १५ वर्षको उमेरमै छोरी जन्मिइन् । त्यसपछि क्रमशः चार छोरी र एक छोरा जन्माए । अहिले घरमा श्रीमान्, ९७ वर्षकी सासु हुनुहुन्छ । ८८ वर्षकी मेरी आमाले समेत मलाई पढ्न प्ररेणा दिनुभएको छ । त्यसैले गर्दा छ म बिहान ४ वजेदेखि उठेर पढ्न सकेको छु । अमेरिकामा काममा जादा खाजा खाने एक घण्टाको समयमा समेत आधा घन्टा पढ्ने गरेको देखेर मलाई काम लगाउनेहरुनै छक्क पर्छन् ।’
एसईई परीक्षा सकेलगत्तै अमेरिका जाने टिकट लिइसकेकी बस्नेत परीक्षाको नतिजा आएपछि भने प्लस टु र ब्याचलर नेपालमा आएर पढ्ने बताउँछिन् । भन्छिन्, ‘अमेरिकाको ग्रोसरीमा दैनिक ८ घण्टा उभिएर काम गरेपनि म दैनिक कम्तिमा पनि तीन–चार घण्टा पढाइलाई दिदै आएकी थिए ।’
काममा अलिकति फुर्सद मिलेमा पनि युट्युबमार्फत् पढ्ने गरेकी बस्नेत आफुले पढेको देखेर कुइरेहरुनै दंग परेरै एसईईका लागि विदा दिए ।’
त्यसैले पनि यहाँ अध्ययनरत विद्यार्थीहरु हामीपनि उत्तीर्ण हुन सक्छौ भन्ने हिम्मत राखेर अध्ययन गर्ने गरेको बताउँछन् । विद्यालयकी प्रधानाध्यापक बिना देउजाका अनुसार आस्था महिला विद्यालयबाट २०६९ सालदेखि हालसम्म ११ औं व्याचले एसर्इई परीक्षामा सहभागिता जनाएका छन् । यसअघि विद्यालयबाट १ सय ३८ जनाले एसएलसी र एसइई परीक्षा उतीर्ण गरिसकेका छन् । गत वर्ष १० जनाले एसर्इई दिएकोमा यस पटक आस्था महिला स्कुलबाट ९ जनाले एसर्इई परीक्षामा सहभागिता जनाउँदै छन् ।
विद्यालयबाट १९ देखि ६५ वर्षसम्मका परीक्षामा सहभागी हुँदैछन् । त्यसरी सहभागी हुनेहरुमा ५५ वर्षीया गोमादेवी बस्नेत, ४८ वर्षीया गोमा गिरी, ४७ वर्षीया लिला भण्डारी, ४३ वर्षीया सविता सम्बाहम्फे, ३५ वर्षीया निशा खनाल, १९ वर्षीया मञ्जु कुमारी सिंह, १९ वर्षीया पेमपुटी शेर्पा रहेका छन् । प्रधानाध्यापक देउजाका अनुसार, आर्थिक, घरायसी लगायतका विभिन्न समस्याका कारण समयमा पढ्न नपाएका महिलाहरूलाई पढाउँदै आएको छ, आस्था महिला विद्यालयले ।



