काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पुन: विश्वासको मत लिने भएका छन्। शुक्रबार मुख्यमन्त्रीले प्रदेश सभाबाट पुनः विश्वासको मत लिने मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ।
नेकपा (एमाले), नेकपा(एकीकृत समाजवादी) र राप्रपाको समर्थनमा गत पुस २७ गते मुख्यमन्त्री भएका शर्माले माघ ६ गते विश्वासको मत लिएका थिए ।
राष्ट्रपतिको चुनावसँगै फेरिएको राष्ट्रिय समीकरणपछि केन्द्रमा राप्रपा सरकारबाट बाहिरिएको छ । राप्रपाका कर्णाली प्रदेशसभा सदस्य सन्तोषी शाहीले गत फागुन १८ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए ।
राप्रपाले समर्थन फिर्ता लिएको एक महिना पुग्नै लाग्दा मुख्यमन्त्री शर्माले विश्वासको मत लिन लागेका हुन् । शुक्रबार विश्वासको मत लिने प्रयोजनका लागि आज मुख्यमन्त्री शर्माले प्रदेशसभा सचिवालयलाई आवश्यक व्यवस्थापन गरिदिन चिठी पठाएको प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।
“उनले नेपालको संविधान २०७२ को धारा १८८ को उपधारा २ बमोजिम विश्वासको मत लिनु हुनेछ”, सचिव बुढाथोकीले भने, “शुक्रबार दिउँसो ३ बजे प्रदेशसभाको बैठक बसेलगत्तै मुख्यमन्त्री शर्माले विश्वासको मत लिने गरी आवश्यक व्यवस्थापन गरिरहेका छौँ ।”
नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक रणसिंह परियारले मुख्यमन्त्रीको विश्वासका मतका लागि अहिलेसम्म सत्ता साझेदार दल एमाले, एकीकृत समाजवादी र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस कसैसँग छलफल नभएको बताए । शुक्रबार लिइने विश्वासका मतका लागि सबै दलहरुसँग छलफल गरेर विश्वासको मत दिने वातावरण बनाइने उनले जनाए ।
कर्णाली प्रदेशसभामा नेपाली कांग्रसेका १४, नेकपा माओवादी केन्द्रका १३, एमालेका १०, राप्रपा, नेकपा एकीकृत समाजवादी र स्वतन्त्रका एक/एक गरी ४० सदस्य रहेका छन् ।



