images
images

विकास लागि भौतिक पूर्वाधार क्षेत्रमा पर्याप्त लगानी आवश्यक : उपप्रधानमन्त्री श्रेष्ठ 


  • 216
    SHARES
  • २०७९ चैत्र ९ गते बिहीबार

    विकास लागि भौतिक पूर्वाधार क्षेत्रमा पर्याप्त लगानी आवश्यक : उपप्रधानमन्त्री श्रेष्ठ 

    काठमाडौं । उप–प्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले विकास लागि भौतिक पूर्वाधार क्षेत्रमा पर्याप्त लगानी आवश्यक रहेको बताएका छन् । एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरूको अन्तर्राष्ट्रिय संगठन इफाप्का र नेपाल निर्माण व्यवसायी महासंघले संयुक्त रुपमा विहिवार राजधानीमा गरेको अन्तरक्रियामा उपप्रधानमन्त्री श्रेष्ठले नेपालको हकमा पूर्वाधारमा पर्याप्त लगानी नभएको धारणा राखेका थिए । 

    पर्याप्त लगानी बाहेक निर्माण उद्योगमा गुणस्तरको अभाव तथा समयमा परियोजना नसकिने परिपाटी देखिएको उपप्रधानमन्त्री श्रेष्ठले बताए । ‘पूर्वाधारमा लगानी’ विषयक अन्तरक्रियामा उपप्रधानमन्त्री श्रेष्ठले परम्परागत शैलीमा काम गरेका कारण पनि नेपालको निर्माण उद्योगमा चुनौती थपिएकाले अब नयाँ शैलीमा काम गर्नुपर्ने धारणा व्यक्त गरे । 

    निर्माणमैत्री ऐन कानून नहुँदा निर्माण उद्योगमा समस्या देखिएको स्विकार गर्दै उनले समय सापेक्ष ऐन कानून बनाउन नेपाल निर्माण व्यवसायी महासंघ जस्ता संस्थाको महत्वपूर्ण भूमिका रहने बताए । भौतिक पूर्वाधार तथा यातायातको क्षेत्रमा विकास गर्न आफूले विभिन्न कार्यदल गठन गरी काम थालिसकेको जानकारी गराउँदै उपप्रधानमन्त्री श्रेष्ठले आफू सबैसँग सहकार्य गर्न तयार रहेको प्रतिबद्धता जनाए ।

    336.jpg

     

    इफाप्का समेत अध्यक्ष रहनु भएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले नेपालमा मात्र नभएर विश्वभरी नै दिगो पूर्वाधार विकासको आवश्यकता बढ्दै गएको बताए । कमजोर वित्तिय अवस्था तथा प्रविधिका कारण नेपाल जस्ता मुलुकलाई दिगो विकासको लक्ष्य हासिल गर्न कठीन भएको अध्यक्ष सिंहले बताए । 

    इफाप्काका महासचिव पनि रहनु भएका नेपाल निर्माण व्यवसायी महासंघका सल्लाहकार विरेन्द्र राज पाण्डेले इफाप्काको उद्देश्यमाथि प्रष्ट पार्दै ४६ औं इफाप्का सम्मेलन आगामी मंसिर ४ देखि ८ सम्म काठमाडौंमा आयोजना गर्न लागिएको जानकारी दिए । इफाप्काका कार्यकारी निर्देशक लेभी भी।एसपीरीतुले पूर्वाधारको क्षेत्रमा आ-आफ्नो अनुभव आदानप्रदान गर्न यस्ता कार्यक्रम निकै उपयोगी हुने बताए । 

    विश्व वन्यजन्तु कोष नेपालका डाक्टर घनश्याम गुरुङले नेपालमा द्रुत गतिमा पूर्वाधार निर्माण भइरहेको र यही बेला दीगो तथा गुणस्तरीय निर्माणमा ध्यान दिनुपर्ने उपयुक्त समय रहेको टिप्पणी गरे । 

    कार्यक्रमका मुख्यवक्ता एशियाली विकास बैंक पूर्व उपाध्यक्ष डाक्टर. बिन्दुनाथ लोहनीले ठूलो आर्थिक वृद्धि चाहने हो भने पूर्वाधारमा गरिने लगानीमा पनि वृद्धि गर्नुपर्ने धारणा राख्नुभयो डा।लोहनीले अबको समयमा सहरी विकासलाई प्राथमिकता दिँदा हरित पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने बताए । 

    नेपालका वाणिज्य बैंकले दीर्घकालसम्म लगानी गर्न नसक्ने भन्दै उनले विश्व बैंक, एशियाली विकास बैंक, पूर्वाधार विकास बैंक लगायत मार्फत लगानी ल्याउन फाइदाजनक हुने सुझाव दिए । 

    सम्मेलनमा विज्ञहरूबीच सार्वजनिक निजी साझेदारीको विविध आयाम, खरिद कानून, इपीसी कन्ट्रयाक्ट, दिगो पूर्वाधारका सम्भावना र चुनौती लगायतका विषयमा छलफल भएको थियो । इफाप्का बोर्ड मेम्बर सुशील कुमार श्रेष्ठले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।


    images
    images

    Logo