काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८० सालमा बैंक तथा वित्तीय संस्थाहरुको विदाको सुची सार्वजनिक गरेको छ । विहीबार राष्ट्र बैंकको जनशक्ति व्यवस्थापन विभागले एक सुचना जारी गर्दै २०८० सालमा बैंक तथा वित्तीय संसथाहरुको विदाको सुची सार्वजनिक गरेको हो ।
जसअनुसार बैंकले शनिबार बाहेक ३५ दिन विदा दिएको छ । नेपाल सरकारले २०८० सालमा हुने विदा सार्वजनिक गरेपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको लागि विदाको सुची सार्वजनिक गरेको हो ।
राष्ट्र बैंकले कार्यालय समय पनि तोकेको छ। जस अनुसार २०८० वैशाख १ गतेदेखि २०८० कार्तिक १५ गतेसम्म तथा २०८० माघ १६ गतेदेखि २०८० चैत्र मसान्तसम्म बिहान १०ः०० बजेदेखि अपरान्ह ५ः०० वजेसम्म कार्यालय समय कायम हुने छ। त्यस्तै २०८० कार्तिक १६ गतेदेखि २०८० माघ १५ गतेसम्म विहान १०ः०० वजेदेखि अपरान्ह ४ः०० वजेसम्म कार्यालय समय कायम गरिएको छ । प्रत्येक शुक्रवार विहान १०ः०० वजेदेखि अपरान्ह १ः३० वजेसम्म कार्यालय समय कायम गरिएको छ ।
बैंकिङ कारोबार समय भने २०८० वैशाख १ गतेदेखि २०८० कार्तिक १५ गतेसम्म तथा २०८० माघ १६ गतेदेखि २०८० चैत्र मसान्तसम्म बिहान १०:०० बजेदेखि अपरान्ह ४:०० वजेसम्म कायम गरिएको छ। २०८० कार्तिक १६ गतेदेखि २०८० माघ १५ गतेसम्म बैंकिङ कारोबार समय विहान १०:०० वजेदेखि अपरान्ह ३:०० वजेसम्म कायम हुने बैंकले जनाएकाे छ ।
प्रदेश सरकारले आ-आफनो प्रदेशमा घोषणा गरेको सार्वजनिक विदाका दिन बढीमा ६ दिन सम्बन्धित प्रदेशमा रहेका कार्यालयमा सार्वजनिक विदा हुने छ । काठमाडौँ उपत्यकाको हकमा भने गृह मन्त्रालयको निर्णय बमोजिम हुने राष्ट्र बैंकले जनाएको छ ।



