images
images

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक


  • 237
    SHARES
  • २०८३ श्रावण ६ गते बुधबार

    सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

    काठमाडौँ । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर, भरपर्दो र प्रभावकारी बनाउने आवश्यकता बढिरहेका बेला हुवावेले सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणसम्बन्धी दुई नयाँ प्रविधि सार्वजनिक गरेको छ ।

    कम्पनीले आज यहाँ आयोजित कार्यक्रममा ‘फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा’ (पीभी) र ‘लुटेरा ग्रिड–फर्मिङ विद्युत् ऊर्जा भण्डारण प्रणाली’ (इएसएस) सार्वजनिक गरेको हो ।

    कम्पनीका अनुसार फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा (पीभी) ठूला क्षमताका सौर्य आयोजनाका लागि लक्षित गरी बनाइएको विकसित डिजिटल प्रणाली हो । यसले कृत्रिम बौद्धिकता (एआई) र डिजिटल प्रविधिको प्रयोगमार्फत सौर्य ऊर्जा उत्पादनको दक्षता बढाउने, सञ्चालन तथा व्यवस्थापनलाई सहज बनाउने र विद्युत् उत्पादनलाई थप प्रभावकारी बनाउने  लक्ष्य राखेको छ ।

    त्यसैगरी लुटेर्रा  ग्रिड–फर्मिङ विद्युत् ऊर्जा भण्डारण प्रणाली (ईएसएस)ले उत्पादन भएको विद्युत् आवश्यकताअनुसार भण्डारण गर्ने, माग बढेका बेला पुनः आपूर्ति गर्ने तथा विद्युत् प्रणालीको स्थायित्व कायम राख्न सहयोग गर्ने कम्पनीको भनाइ छ । नवीकरणीय ऊर्जाको उत्पादन मौसमअनुसार घटबढ हुने भएकाले यस्तो ऊर्जा भण्डारणका लागि यो प्रविधि उपयोगी भएको कम्पनीको भनाइ छ ।

    नेपालमा जलविद्युत्सँगै सौर्य ऊर्जा प्रवर्द्धनको प्रयास भइरहेका बेला विद्युत् प्रणालीलाई सन्तुलित र भरपर्दो बनाउन ऊर्जा भण्डारण प्रविधिको भूमिका महत्त्वपूर्ण मानिएको छ ।  विशेषगरी सौर्य ऊर्जा उत्पादन दिनको समयमा केन्द्रित हुने र मागको समय फरक हुने भएकाले ऊर्जा भण्डारण प्रणालीले विद्युत् व्यवस्थापनमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।

    कार्यक्रममा नेपाल उद्योग परिसङ्घ (सीएनआई)का अध्यक्ष वीरेन्द्रराज पाण्डे, हुवावे डिजिटल पावर साउथ एसियाका निर्देशक यु जियानलोङ, हुवावे नेपालका प्रमुख कार्यकारी अधिकृत चेस्टर चेन तथा हुवावे नेपाल डिजिटल पावरका निर्देशक रोहितचन्द्र शाहलगायत ऊर्जा विकासकर्ता र नवीकरणीय ऊर्जा क्षेत्रका सरोकारवालाको सहभागिता थियो ।12


    images
    images

    Logo