images
images

मर्मतपछि रसुवागढी जलविद्युत आयोजना पुनः सञ्चालनमा


  • 289
    SHARES
  • २०८२ मंसिर २१ गते आइतबार

    मर्मतपछि रसुवागढी जलविद्युत आयोजना पुनः सञ्चालनमा

    काठमाडौं । गत असारमा आएको विनाशकारी बाढीबाट गम्भीर रूपमा क्षतिग्रस्त रसुवागढी जलविद्युत आयोजना मर्मत कार्यपछि आंशिक रूपमा पुनः सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको नेतृत्वमा निर्माण भएको उक्त आयोजना हाल एक युनिटमार्फत विद्युत उत्पादन सुरु गरिएको हो ।

    चीनको तिब्बत क्षेत्रबाट बग्ने ल्येन्दे खोलामा हिमताल विष्फोटन भई आएको आकस्मिक बाढीले असार २४ गते आयोजनाको बाँध तथा हेडवर्क्स संरचनामा ठूलो क्षति पु¥याएको थियो । त्यसपछि गरिएको मर्मत कार्यपछि अस्थायी रूपमा डाइभर्सन गरी विद्युतगृहका तीन युनिटमध्ये एउटा युनिटबाट उत्पादन पुनः सुरु गरिएको हो ।

    १११ मेगावाट क्षमताको आयोजनाबाट हाल ३७ मेगावाट विद्युत उत्पादन भइरहेको छ । बाँकी दुई युनिट पनि आगामी एक महिनाभित्र सञ्चालनमा ल्याइने र बाँध तथा हेडवर्क्स क्षेत्रको पूर्ण मर्मत कार्य आगामी वर्षायामअघि सम्पन्न गर्ने लक्ष्यका साथ पुनर्निर्माण कार्य तीव्र पारिएको प्राधिकरणले जनाएको छ ।

    बाढीका कारण हेडवर्क्स क्षेत्रका नियन्त्रण भवनहरूमा दुई मिटरभन्दा बढी लेदो थुप्रिएको थियो भने विशाल ढुङ्गा आइ संरचनाहरू भत्किएका थिए। टेलरेस क्षेत्रमा पानी थुनिँदा टर्बाइन रहेको तल्ला पूर्ण रूपमा जलमग्न भएको थियो ।

    आयोजनामा कार्यरत २२ जना कर्मचारीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत सुरक्षित रूपमा उद्दार गरिएको थियो भने कर्मचारी आवास क्षेत्र बाढीले बगाएको थियो । साथै, आयोजना स्थलसम्म पुग्ने मुख्य सडक पहिरोका कारण विभिन्न स्थानमा अवरुद्ध भएको थियो ।

    २०७९ पुस १६ गतेदेखि व्यवसायिक उत्पादन थालेको उक्त आयोजना बाढीपछि बन्द अवस्थामा थियो । आयोजना पूर्ण रूपमा सञ्चालनमा आएपछि वार्षिक करिब ६१ करोड ३८ लाख युनिट विद्युत् उत्पादन हुने र यसबाट करिब ३ अर्ब २५ करोड रुपैयाँ वार्षिक आम्दानी हुने अनुमान गरिएको छ ।


    images
    images

    Logo