images
images

सडक सुरक्षाको सवाल  र चुनौती


  • 2.6K
    SHARES
  • २०८० चैत्र ९ गते शुक्रबार

    सडक सुरक्षाको सवाल  र चुनौती

    ई.कर्ण के.शी 

    सडक सुरक्षाको बिश्वब्यापी अबस्था सम्बन्धि प्रतिबेदन २०२३ प्रकाशित भएको छ बिश्व स्वास्थ्य  संगठनले प्रकाशनमा ल्याएको उक्त प्रतिबेदनमा आफ्नो बिचार राख्दै बिश्व स्वास्थ्य संगठनका महानिर्देशकले यातायात प्रणालीको विकासले संसारलाई खुल्ला गरिदिएको तर यसबाट विश्वले महँगो मुल्य पनि चुकाउनु परिरहेको तितो यथार्थलाई उजागर गरेका  छन् । उक्त प्रतिबेदन अनुसार सन् २०२१ मा सडक दुर्घटनाबाट विश्वमा करिब ११ लाख ९० हजार मानिसले ज्यान गुमाउनु परेको छ विश्वभर हरेक एक मिनेटमा २ जना  भन्दा बढी मानिसको मृत्यु सडक दुर्घटनमा परेर भएकाे तथ्य समेत यसले सार्बजनिक गरेको छ ।

    ५ देखि २९ बर्ष उमेर समुहका मानिसहरुको मृत्युको प्रमुख कारण सडक दुर्घटना रहेको र यसबाट हुने हरेक १० मृत्यु मध्य ९ मृत्यु कम विकसित र अल्प विकसित मुलुकमा हुने गरेको छ भने समग्रमा २ देखि  ५ प्रतिशत सम्म GDP मा ह्रास यसले ल्याई रहेको तथ्य समेत बाहिर आएको छ । सडक दुर्घटनाको यस्तो कहाली लाग्दो अबस्थालाई मध्य नजर गरि संयुक्त राष्ट्र संघले २०११ – २०२० को दशकलाई  सडक सुरक्षाको दशक घोषणा गरि २०२० सम्म दुर्घटनाबाट मृत्यु हुनेको संख्या आधा घटाउने लक्ष्य अनुरुप सदस्य रास्ट्रको हैसियतले हाम्रो देश नेपालले पानि २०१३ – २०२० को कार्ययोजना बनाइ दुर्घटनाबाट हुने मानविय तथा भौतिक  क्षति कम गर्ने लक्ष्य लिएको थियो ।

    माथि उल्लेखित प्रतिवेदनले विश्वले लिएको उक्त लक्ष्य कति हाँसिल भयो ? यसमा  कुन कुन देश र क्षेत्रले उक्त लक्ष्य हाँसिल गर्न सफल कसरि भए ? हाम्रो जस्तो विकासोन्मुख मुलुकको अवस्था कस्तो छ ? र के कारणले कुनै देशमा अपेक्षित लक्ष्य प्राप्त भए ? र कतै हुन सकेनन ? भन्ने बिषयहरुको सुष्म ढंगले बिबेचना गरेको छ । हामी जस्तो सडक दुर्घटनाको बिकराल समस्याबाट प्रताडित भै रहेको देशको लागि पक्कै पनि प्रयोग सिद्द भै सकेको बिधि र प्रक्रिया अबलम्बन गरि हजारौको संख्यामा जोखिममा रहेको मानबिय जीवनलाई बचाउन अत्यन्त आबश्यक भएको छ । यसै प्रतिबेदनको सेरोफेरोमा रही सडक सुरक्षाका चुनौती र अबको हाम्रो बाटो कसरि तय गर्न सकिन्छ भन्ने बारेमा यो लेख केन्द्रित रहेको छ ।


    विश्वब्यापी रुपमा सन् २०१० को सडक दुर्घटनाको तथ्यांकलाइ सन् २०२१ संग तुलना गरि हेर्दा ५ प्रतिशले मृत्युको संख्या कमि भएको छ भने यो बिचमा बढेको जनसंख्या र सवारी साधनहरुलाई समेटी विश्लेषण गर्दा यस्ता प्रतिशत थप बढ्न गएको देखिन्छ । सडक दुर्घटनाबाट हुने मृत्युको संख्या युरोपियन क्षेत्रमा ३६  प्रतिशत, पश्चिमी  प्रशान्त क्षेत्रमा १६ प्रतिशत र अमेरिकी क्षेत्रमा ०.१ प्रतिशतले कमि भएको छ भने दुर्घटना बाट सबै भन्दा बढी मृत्यु भएको क्षेत्र दक्षिण पुर्बी एसियामा समेत मृत्युको संख्या २ प्रतिशतले घटेको छ । अघिल्लो दशकको ५० प्रतिशतले मृत्यु कम गराउने लक्ष्य जम्मा १० वटा देशहरुले मात्र हाँसिल गरेका छन् तिनीहरु जापान, रसिया, बेलारुस, नर्वे , डेनमार्क, ब्रुनई, युनाइटेड अरब  आदि छन् । संसार भरका १०८ वटा देशहरुले २ प्रतिशत भन्दा बढी दरले मृत्युको संख्या घटाएकोमा ८ वटा कम आय भएका मुलुकहरुले समेत मृत्युदर घटाएका छन् । विश्वमा यसरी मृत्युको संख्या घटेको भएतापनि हाम्रो देश नेपालमा यो अबधिमा सडक  दुर्घटनाबाट हुने मृत्युको संख्या घटेको छैन । नेपालमा हाल दैनिक रुपमा औशत ६ देखि ७ जना मानिसको मृत्यु सडक दुर्घटनाबाट भै रहेको छ । हाम्रा धेरै गाउँबस्ति आज सडक दुर्घटनामा उर्जाशील र क्षमतावान युवा गुमाएका कारण विक्षिप्त अबस्थामा छन् ।


    यस सन्दर्भमा  स्वभाविक रुपमा हामीमा एउटा प्रश्न तेर्सिन आइ पुग्छ सडक दुर्घटनाबाट हुने मानबिय क्षति उल्लेख्य रुपमा घटाउन सकिने रहेछ तर कसरी ? अन्य देशहरुमा प्रयोग सिद्ध भइसकेको आधारलाई टेकेर भन्नु पर्दा दुर्घटनाबाट हुने मृत्यु कम मात्र हैन पुरै निर्मुल पार्ने तर्फ सफलता पुर्बक आगाडी बढ्न सकिन्छ यसको लागि हामीले हाम्रो मोबिलिटी सिस्टममा सेफ सिस्टम एप्रोच को अबधारणा लागु गर्न नितान्त आबश्यक छ । त्यसो हो भने मोबिलिटी सिस्टममा सेफ सिस्टम एप्रोचको अबधारणा के हो ? र यसले कसरि सडक दुर्घटनाबाट हुने मानिसको जीवन बचाउने कार्य गर्दछ त यो तर्फको अध्यन बहस र छलफल अनि सोहि अनुसारको नीति निर्माण र कार्यन्वयन नै अबको हाम्रो सडक दुर्घटनाबाट हुने मृत्यु हटाउने तर्फको बाटो बन्न सक्छ  ।


    सडक सुरक्षामा सेफ सिस्टम एप्रोच हाम्रो सडक आवागमनको लागि त्यस्तो दृष्टिकोण हो जसले सब प्रथम हामीलाई मानब जीवनका  केहि सास्वत नियमहरु तर्फ सम्झना गराउने गर्छ जस्तै : हामी मानिसहरु गल्ति गर्छौँ,  मानिसको  शरीरसंग उसको रक्षाको लागि लड्न सक्ने सिमित मात्रामा मात्र शक्ति छ , हरेक मानिससंग उसका लागि केहि  कर्तब्यहरु हुन्छन  र एकता नै बल हो । यस पृष्टभूमिमा सेफ सिस्टम एप्रोचले सडक सुरक्षाको बिषयमा एउटा सुरक्षित प्रणाली स्थापनाको माग गर्दछ जुन प्रणालीले उ भित्र रहेका विभिन्न कम्पोनेन्टहरुको मजबुद अन्तरसम्बन्ध र गतिशील अन्तरक्रिया एकीकृत रुपमा अथवा समग्रतामा सम्बोधन गर्न सकोस् । 

    अब फेरी प्रश्न उठ्छ सुरक्षित प्रणालीमा रहने विभिन्न कम्पोनेन्टहरु के के हुन् त ? बुझ्न सजिलोका लागि कुनै सडकमा गुडिरहेको एउटा मोटरसाइकललाइ आधार मानेर चर्चा गर्नु पर्दा यस  प्रणालीमा रहने कम्पोनेन्टहरु मोटरसाइकल , त्यसमा सवार चालक तथा अन्य यात्रु उनीहरुको शारीरिक मानसिक र संबेगात्मक अबस्था, सडकको अबस्था, वातावरणीय अबस्था, मोटरसाइकलको यान्त्रिक अबस्था र गति , ट्राफिकफ्लोको अबस्था , सडकमा यातायात व्यबस्थाको अबस्था, ट्राफिक नियम कार्यान्वयनको अबस्था र सम्भावित दुर्घटना भए त्यसबाट क्षति कम गराउने प्राभाबकारी आकस्मिक उपचारको प्रबन्ध लगायत यिनीहरु संग सम्बन्धित बलियो सस्थागत संयन्त्र र तिनीहरु बिचको समन्वय र सहकार्य समेत हुन् । 


    सडक सुरक्षा बहुआयामिक र सर्बपक्षीय समन्वय र सहयोग आबश्यक रहने बिषय हो माथि उल्लेखित विभिन्न कम्पोनेन्टहरु मध्य कुनै एउटा कम्पोनेन्टले मात्र सुरक्षित प्रणाली सम्भब हुँदैन र एकको कारणले मात्र सडक दुर्घटना भइ मानिसहरुको अनाहकमा ज्यान गइरहेको छैन । सुरक्षित सडकको लागि पर्याप्त फराकिलो सडक, खाल्ड खुल्डी रहित सडक, यथेस्ठ मात्रामा ट्राफिक संकेत चिन्हहरु जडान, सडकमा सहि तरिकाले लेन मारकिंग, पैदल यात्रुमैत्री संरचनाहरु निर्माण जस्तै फरक क्षमता भएका मानिसहरुको लागि समेत प्रभाबकारी हुने  फुटपाथ तथा जेब्रा क्रसिंगको ब्यबस्था, डेलीनियेसनको लागि सडक छेउमा पोस्ट तथा ब्लक तथा जोखिम युक्त ठाउँहरुमा क्र्याश ब्यारिएरको ब्यबस्था, ठाउँठाउँमा यात्रु चड्ने र ओराल्ने व्यबस्था, घुम्तीहरुमा पर्याप्त भिसिबिलीटिको व्यवस्था, शहरी सडकहरुमा स्ट्रिटलाइटको प्रबन्ध, चोकहरुमा ट्राफिक सिग्नल इत्यादी हुनु पर्छ नै कहिलेकाँही हाम्रो परिबेशमा बिग्रिएर जाम हुने साँघुरो सडक जब नंया र फराकिलो हुन्छ दुर्घटनाको जोखिम त्यहाँ समेत उच्च हुने गर्दछ यसको मतलब सुरक्षित सडकले मात्र सुरक्षित प्रणाली पूर्ण हुँदैन यसको लागि सुरक्षित सवारी साधन, ट्राफिक नियम सम्मान गर्ने सडक प्रयोगकर्ता, चुस्त  सडक सुरक्षाको ब्यबस्थापन, सवारीको सुरक्षित गति ब्यबस्थापन र सम्भावित दुर्घटनाको क्षति न्यूनीकरण गर्ने प्रभाबकारी उपचारको ब्यबस्था अपरिहार्य छ ।


    सुरक्षित प्रणालीले समग्र आवागमन प्रक्रियाको केन्द्रमा नागरिक र उसको सुरक्षालाइ राखेको हुन्छ सडकमा आवागमनको क्रममा ट्राफिक नियमको सम्मान गरि हिड्ने सडक उपभोककर्तासंग सुरक्षित यात्रा गर्न पाउने नैसर्गिक अधिकारको  प्रत्याभूति गर्न यसले सुझाउछ भने कुनै सडक प्रयोग कर्ताले यात्राको क्रममा केहि गल्ति गर्न पुग्यो भने त्यो गल्ति नै उसको मृत्युको कारण बन्न दिनु हुँदैन  र यस तर्फ सिस्टम डिजाइनरले ध्यान दिनु पर्दछ भन्ने मान्यता यसले बोकेको हुन्छ । यस प्रणालीले आफु भित्र रहेका विभिन्न कम्पोनेन्टहरु मध्य कुनै एउटा कम्पोनेन्ट असफल हुँदा समेत सडक प्रयोगकर्ता सुरक्षित हुने गरि कम्पोनेन्टहरु बिचको समन्वय र अन्तर आबद्द्ता कायम गरेको हुन्छ उदाहरणको लागि सडक प्रयोगकर्ताको ब्यबहार सुरक्षित नभएको समयमा सुरक्षित सडक वा अन्य कम्पोनेन्टहरुले उसलाई दुर्घटनाबाट बचाउनु पर्छ र कहिले काँही सडक सुरक्षित नभएको बखत समेत  प्रयोगकर्ताको ब्यबहार वा अन्य कम्पोनेन्टहरुले उसलाई दुर्घटनाबाट बचाउनु पर्छ यसको सुनिस्चितता सुरक्षित प्रणालीको संचालनले मात्र गर्न सक्छ ।


    यस परिबेशमा हामीले सुरक्षित प्रणालीको संचालन गर्नमा के कस्ता चुनौतीहरु रहेका छन् र अबको बाटो कसरि तय गर्न सकिन्छ भन्ने बिषयमा गहन अध्यन अनुसन्धान र सर्बपक्षीय अन्तरक्रिया तथा त्यसको आधारमा नीतिगत निर्णय आजको प्रस्थान बिन्दु हुन सक्छ । देश संघियतामा रहेको हालको परिप्रेक्षमा संचालनमा रहेका करिब १ लाख किलोमिटर सडक संजाल तथा थप निर्माण हुने सडकहरुको निर्माण, संचालन र मर्मत शम्भार गरि हरेक सडकमा सुरक्षित प्रणाली स्थापनाको लागि सबै तहका सरकार बीच र माथि उल्लेखित कम्पोनेन्टहरु बिचको पारस्परिक सहयोग ,समन्वय  र सहकार्य चुनौतिको रुपमा रहेको छ । संघीय सरकारबाट निर्माण र संचालनमा रहेका सडकहरु भन्दा स्थानीय स्तरमा संचालनमा आएका सडकहरु बढी जोखिमयुक्त रहेका छन् । बिगत केहि बर्ष देखि सडक बिभाग मातहतका सडकहरुमा  सडक सुरक्षालाइ प्रथामिकतामा राखी कार्यन्वयन भै रहेको छ अन्य सडकहरुमा सडक सुरक्षालाइ योजनाको सुरुकै चरण देखि समाबेश गरि कार्यान्वयन गर्नु पर्ने चुनौती समेत रहेको छ । सडक सुरक्षालाई कुनै पनि समाजको सस्कार पनि भन्ने गरिन्छ यसमा सस्कारजन्य सुधारको आबश्यकता पनि चुनौती कै रुपमा रहेको छ भने हाम्रो सिमित स्रोत साधन र तथ्य तथ्यांकको अभाब हाम्रो लागि अर्को चुनौती हुन सक्छ । 


    दिगो विकास लक्ष्यले पनि  सडक सुरक्षालाई आत्मसात गरेको सन्दर्भमा संयुक्त राष्ट्रसंघले समेत २०२१-२०३० लाइ पुन दोश्रो सडक सुरक्षाको दशक घोषणा गरि सन् २०३० सम्म  दुर्घटनाबाट हुने मृत्यु र गम्भीर घाइतेको संख्या ५० प्रतिशतले कम गर्ने लक्ष्य लिएको छ सदस्य रास्ट्रको हैसियतले हामीले पनि त्यसलाई आत्मसात गरेका छौँ । साबिकका सडक सुरक्षाका रणनीति, कार्यक्रम र सो सम्बन्धि हस्तक्षपहरु दिगो रुपले  सुरक्षित प्रणालीमा आबद्द गर्ने गरि संघीय सरकारको नेतृत्वमा आबश्यक कानुनी ब्यबस्था सहित सडक सुरक्षा सम्बन्धि बलियो समग्र प्रणालीको अगुगाई गर्ने सस्थागत संयन्त्र निर्माण गर्न जरुरि छ । ज्ञात सम्भावित दुर्घटनाको जोखिमलाइ समाधानको उपायको ब्यबहारिक हस्तक्षपले सडक दुर्घटनाबाट हुने मृत्यु र गम्भीर घाइतेको संख्या घटाउन महत्वपूर्ण भूमिका खेल्दछ । बर्तमान सडक सुरक्षा सम्बन्धि लिएको लक्ष्यलाइ बार्षिक लक्ष्यमा रुपान्तरण गरि सोहि अनुसार अनुगमन र प्रगति समिक्षा आबश्यक हुन्छ । सुरुवाती चरणमा साना साना पाइलट योजनाहरु बनाएर त्यसको अनुभवको आधारमा सुरक्षित प्रणालीको  ढांचा तयार गरि सफलताको मात्रात्मक बृदी गर्न सकिन्छ जसको लागि संस्थागत क्षमता बृदी नितान्त आबश्यक हुन् आउँछ ।


    अब हामि सडक दुर्घटनाबाट हुने मानविय तथा भौतिक क्षतिबाट शोककुल वातावरणमै बसीरहने होइन दुर्घटनाबाट हुने मृत्युको संख्या शुन्यमा पुर्याउने लक्ष्य राखी सो तर्फ उल्लेख्य प्रगति गर्दै त्यसको सफलता मनाउने तर्फ अघि बढ्न कदापी ढिलो गर्नु हुँदैन यसको लागि हामि सबैको आ आफ्नो ठाउँका कर्तब्यहरु छन् । सरकारको सहि तथ्यांक, बलियो कानुनि ब्यबस्था,  सरोकारवाला पक्षहरुको सहभागिता सहित रणनीतिक नेतृत्व आबश्यक छ । मोबिलिटि सिस्टमका निजि क्षेत्रले पनि सुरक्षा र दिगोपनालाइ उनीहरुको मुल्य शृंखलाको केन्द्रमा राख्न जरुरि हुन्छ । नागरिक समाज र शैक्षिक सस्थाहरु र सञ्चार जगतको पनि यसमा अमुल्य योगदान आबश्यक हुन्छ । सडक दुर्घटनाबाट सबै भन्दा जोखिममा रहेका युवावर्गहरुको सिर्जनशील, बुलन्द आवाज र सहयोग पक्कै पनि यसको लागि कोशेढुंगा साबित हुनेछ ।




    images
    images

    Logo