काठमाडौं । ‘दोस्रो हिमालयन इन्टरनेरशनल एक्स्पो–२०८०’ सुरु भएको छ । हिमालयन इन्टरनेशनल एक्स्पो आइएनसीको आयोजनामा शुक्रबारदेखि राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा उक्त मेला आयोजना गरिएको हो । मेलाको उद्घाटन उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले गरे ।
कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठले स्थानीय तहमा उत्पादित स्वदेशी उत्पादन निर्यात नगरी मुलुकको व्यापारघाटा न्यूनीकरण नहुने बताए। उनले व्यापारघाटा कम गर्न र राष्ट्रको अर्थतन्त्र समृद्ध बनाउन साना तथा घरेलु र हस्तकला उद्योगलाई प्रोत्साहन गर्नुको विकल्प नभएको बताए ।
सरकारको राष्ट्रिय कार्यभार सामाजिक आर्थिक रुपान्तरण र आर्थिक समृद्धि भएको भन्दै गृहमन्त्री श्रेष्ठले देशको उत्पादनलाई निर्यात गर्न नसकेसम्म व्यापारघाटा कम गर्न नसकिने बताए ।
उद्घाटन समारोहमा सांसद वासुदेव घिमिरेले हस्तकला तथा साना उद्योगहरुलाई प्रवद्र्धन गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताए । यस्ता उद्योगहरुलाई बचाएर मात्रै जनताको आयस्तर माथि उठाउन सकिने उनको भनाइ थियो ।
एक्स्पोका संयोजक कपिल अधिकारीले एक्स्पोमा अमेरिका, क्यानडा, युरोप, चीन र भारतलगायत मुलुकबाट पाँच सयभन्दा बढी विदेशी क्रेताको सहभागिता रहेको जानकारी दिनुभयो । नेपाली मौलिक उत्पादनको निर्यातलाई बढाई आर्थिक समृद्धि गराउने उद्देश्यले एक्स्पो आयोजना गरिएकोे उनले बताए ।
उहाँका अनुसार एक्स्पोको क्रममा हस्तकलासम्बन्धी जीवन्त कलाको प्रदर्शनी, समसामयिक विषयमा गोष्ठी, क्रेता र बिक्रेताबीच अन्तरक्रिया कार्यक्रम आयोजना हुनेछ । विश्वका विभिन्न देशबाट क्रेता भित्र्याउने र बढीभन्दा बढी नेपाली व्यापारीलाई विदेशी व्यापारीसँग सम्बन्ध विस्तार गराई निर्यात बढाउने लक्ष्य राखिएको उनले बताए । करिब ५० हजारले एक्स्पो अवलोकन गर्ने आयोजकको अनुमान छ ।
एक्स्पोमार्फत स्थानीय हस्तकला तथा साना र मझौला उद्योगका उत्पादनको प्रवद्र्धन गर्ने र यस्ता उत्पादनलाई प्रदर्शनी मार्फत परिचित गराई विश्व बजारमा पहुँच गराई निर्यातमा सघाउने मुख्य उद्देश्य रहेको आयोजक पक्षले जनाएको छ ।
नेपाली मौलिक उत्पादनको निर्यातलाई बढाई आर्थिक समृद्धि गराउने मुख्य उद्देश्य रहेको एक्स्पोमा हस्तकलाजन्य सामग्री, अल्लो, सिस्नो, केरा, बाँस, केतुकी, भूँइकटहरलगायतका प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादन, विभिन्न प्रदेशका मौलिक परिकार तथा अन्य सामग्री रहने एक्स्पोका संयोजक अधिकारीले बताए ।
यसैगरी जैविक स्रोतबाट बनेका श्रंगारको सामग्री तथा महबाट बनेका सौन्दर्य प्रसाधनका सामग्री, जैविक तथा आयुर्वेद उपचार प्रक्रियामा उपयोग गरिने प्राकृतिक औषधीय सामग्री, मसला, छोप, हस्तकलाका उत्पादनलगायतका सामग्रीमा पनि उपभोक्ताको आकर्षण देखिने अपेक्षा लिएको संयोजक अधिकारीले बताए ।
यसका साथै पश्मिना, स्टोन, माला, क्यूरियाको सामान, गलैंचा, गार्मेन्टका सामान, सिसा पाइपहरु, नेपाली कागज, मूर्तिकला, धातुकला, काष्ठकला, फेल्ट, गरगहनाहरू, हेण्ड मेड पेपरहरू, पेपर प्याकेजहरु, नेपाली ढाकाहरू, कार्पेट, घरेलु साना तथा ठूला उद्योगहरुबाट उत्पादित वस्तु, जडिबुटी, सजावटका सामान, पर्यटन उद्योगसँग सम्बन्धित सेवाहरु जस्तै होटल, ट्रेकिङ, ट्राभल्स, खानपिन, टुर्स, धर्म, कला र सँस्कृतिसँग सम्बन्धित क्रियाकलाप प्रदर्शनीका आकर्षणका रुपमा रहने आयोजक पक्षले जनाएको छ ।
हिमालयन इन्टरनेशनल एक्स्पो आइएनसीले यसपाली आयोजना गर्ने एक्स्पोमा स्वदेशी तथा विदेशी गरि एक सय स्टल रहेका छन् । एक्स्पोको क्रममा हस्तकला सम्बन्धी जीवन्त कलाको प्रदर्शनी, समसामयिक विषयमा गोष्ठी, क्रेता र बिक्रेता बीच अन्तरक्रिया कार्यक्रम आयोजना गरिने बताइएको छ ।
विश्वका विभिन्न देशहरुबाट क्रेताहरु भित्र्याउने र बढी भन्दा बढी नेपाली व्यापारीलाई विदेशी व्यापारीहरुसँग सम्बन्ध विस्तार गराई निर्यात बढाई आर्थिक सम्बृद्धि साथै पर्यटन विकास र प्रवद्र्धन गर्ने यो प्रदर्शनीको प्राथमिकता रहेको एक्स्पो आयोजक पक्षले जनाएको छ ।
स्थानीय हस्तकला तथा साना र मझौला उद्योगका उत्पादनको प्रवर्द्धन तथा विश्वबजारमा पहुँच गराई निर्यातमा सघाउने उद्देश्यले आयोजना गरिएको एक्स्पो आगामी असोज २९ गते सोमबारसम्म चल्ने आयोजक पक्षले जनाएको छ ।



