काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणबाट प्रवाह हुने सबै सेवा बुधबार देखि अनलाइनमार्फत् हुने भएको छ । प्राधिकरणमा कार्यरत आठ जनाभन्दा बढी कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै सबै काम अनलाइनमार्फत् हुने भएको हो ।
प्राधिकरणले एक सूचना जारी गरी अर्काे सूचना जारी नहुँदासम्म हाल हुँदै आएका सम्पूर्ण कार्य अनलाइनमार्फत् हुने जनाएको हो । प्राधिकरणका प्रवक्ता सन्तोेष पौडेल प्राधिकरणबाट प्रवाह हुँदै आएका सेवाका लागि सेवाप्रदायक कम्पनीहरुले अनलाइनमार्फत् जानकारी गराउनुपर्ने बताए ।
हामीले अनुमतिपत्र प्राप्त सबै सेवा प्रदायक कम्पनीलाई प्राधिकरणबाट हुने कार्यका लागि सहजीकरण गर्छौं,’ उनले भने ‘यसअघि हुँदै आएको सबै नियमित कामहरु यथावत् हुन्छन् । आवश्यक कामका लागि प्राधिकरणको इमेलमा अनलाइनमार्फत जानकारी गराउनुपर्ने हुन्छ ।
प्राधिकरणको सेवा सञ्चालन मार्गदर्शन, २०७७ मा उल्लेख भएअनुससार बढीमा एक तिहाइ कर्मचारीको उपस्थितिमा सेवा प्रदान गर्ने भन्ने व्यवस्था भए तापनि हाल प्राधिकरणका आठ जनाभन्दा बढीमा कोरोना देखिएको छ ।
अन्य कर्मचारीमा संक्रमण अझ बढ्न सक्ने भएकाले कोभिड–१९ को दोस्रो चरणको संक्रमणलाई ध्यानमा राख्दै बुधबारदेखि प्राधिकरणबाट हुने सबै काम ‘वर्क फर्म होम’को व्यवस्थाअनुसार मिलाएको हो ।
प्रवक्ता पौडेलका अनुसार घरबाटै काम गर्ने कर्मचारीहरुले बिहान १० देखि बेलुका ५ बजेसम्म अनलाइनमा बसी अफिस अटोमेशन सिस्टमबाट काम गर्ने व्यवस्था मिलाइएको छ । उनले घरबाटै काम गर्ने कर्मचारीले ई–हाजिरी प्रणालीमार्फत् अनिवार्य रुपमा हाजिर गर्नुपर्ने बताए।
यदि कार्यालयलाई आवश्यक परेको खण्डमा महाशाखा प्रमुखको निर्देशनमा भौतिक रुपमा उपस्थित भई कार्यालयको कामकाज गर्नुपर्ने छ ।



